काठमाडौं : चैतको अन्तिम साता काठमाडौंमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेता चार दिने तराई यात्रामा निस्किने भएका छन् ।
सोमबारदेखि बिहीबारसम्मतराई–मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई-मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्ष रहनेछन् ।
चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा आरम्भ गर्ने राप्रपाका नेताहरू सोमबार धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन् ।
राप्रपाले ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगञ्जमा आमसभा गर्नेछ । साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा उद्योगी–व्यवसायीसँग छलफल र अन्तरक्रिया राखिएको छ। चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेला तय भएको छ ।
यसैगरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोदेबर्साइन नगरपालिकामा आमसभा गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलन थालेको राप्रपाले यही चैत २७ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्दैछ ।



