काठमाडौं : धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ ।
धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको उनले आरोप लगाएका छन् । ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ,’ उनको भनाई रहेको छ ।
त्यस्तै मेयर शाहले सो स्थानमा पार्किङ बन्द नहुने र महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुने स्पष्ट पारेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।’तर केहिदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ ।सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ । अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ । अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’



