काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका साथसाथै राप्रपाको संस्थागत सहभागिता नरहने भएको छ ।
प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए । तर, पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन् ।उनी चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त छन् । चितवनमा नै पूर्वराजाको पूर्वनिर्धारित कार्यक्रम रहेकाले उनी प्रसाईंको कार्यक्रममा सहभागी नहुने निश्चित रहेको सचिवालयको भनाइ छ ।यस्तै प्रसाईले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर आफ्नो कार्यक्रममा कार्यकर्ताहरु पठाइदिन आग्रह गरेका थिए । तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रसाईंको कार्यक्रम र आन्दोलनमा पार्टीको संस्थागत सहभागिता नरहेको बताए । उनले अध्यक्ष लिङ्देन मंगलबार आयोजित प्रसाईंको कार्यक्रममा सहभागी हुने कुनै कार्यक्रम नभएको स्पष्ट पारे ।



