काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यतिबेला फिनल्याण्डमा छन् । केहीदिन अघि फिनल्याण्ड पुगेका मिश्र त्यहाँ रहेका व्यक्ति र संस्थाहरुसँगको भेट र छलफलमा व्यस्त छन् ।
यो बीचमा मिश्रले त्यहाँकी एकजना सांसद एवं पूर्वमन्त्रीसँग भेटघाट गरेर फिनल्याण्डको राजनीतिकर्मी र नेपाली राजनीतिकर्मीको अन्तर छुट्याएका छन् ।
७ पटक लगातार फिनल्याण्डको सांसद भएकी इभा ब्यायुडेटसँग भेटेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै मिश्रले त्यहाँको राज्य र राजनीतिकर्मीको सुशासनप्रतिको संकल्प, दृढता र इमानदारिताका बारेमा चर्चा गरेका छन् ।
मिश्र सामाजिक सञ्जालमा लेख्छन्,
देश त्यसै बन्दैन !
– भूतपूर्व सांसद/मन्त्री/प्रधानमन्त्री आफ्नो कार्यकालपछि जीवनयापनका लागि विभिन्न काममा फर्किन्छन्।
– मन्त्रीहरूलाई छुट्टै गाडी/ड्राइभर दिइएको हुँदैन।
– “मन्त्री क्वाटर” हुँदैन। (नेपालको जस्तो “मन्त्री महल” हुने त झन कुरै भएन)
– राजधानी बाहिरको भए फ्ल्याट भाडामा लिन थोरै भत्ता हुन्छ।
– मन्त्री भन्दैमा त्यस्तो विशेष सुविधा केही हुँदैन।
– भूतपूर्वहरूले त केही पनि सुविधा पाउँदैनन्।
– सांसद/मन्त्री/प्रधानमन्त्री भन्दैमा तामझाम हुँदैन। सबैले आफ्नो जिम्मेवारीको काम गर्छन्। कुरा खत्तम।
Eva Biaudet फिनलण्डको हालको सहित ७ पटक निर्वाचित सांसद र भूतपूर्व समाज कल्याण मन्त्री हुन्।
उनीसँगको भेट गराउने हेलसिन्की नगरपालिकाकी निर्वाचित सदस्य व्योमा ताम्राकारलाई धन्यवाद ! भेट फलदायी रह्यो।
रवीन्द्र मिश्र
उनले यो बीचमा त्यहाँ रहेका नेपाली समुदाय र व्यक्तिहरुलाई पनि भेटिरहेका छन् । मिश्रले फिनल्याण्ड पुगेपछि हेलसिन्कीमा रहेको नेपाली समुदायले आयोजना गरेको अन्तरक्र्रिया लगायत कार्यक्रममा सहभागी भएका छन् ।
मिश्रले सो नगरपालिकाकी निर्वाचित सदस्य नेपाली मूलकी व्योमा ताम्राकारलाई पनि भेटेका छन् । उनै ताम्राकारले उनलाई पूर्वमन्त्रीसँग भेट गराएकी हुन् ।
करिब दुईसाताको भ्रमणका लागि मिश्र त्यहाँ पुगेका हुन् ।






