काठमाडौं : गत पुस १३ गते ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले ज्यान गुमाए । विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भएको हो ।
बालकुमारी–ग्वार्को सडक खण्डमा आन्दोलन गरेका उनीहरू र प्रहरीबिच झडप भएको थियो। उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको उच्चस्तरीय आयोगले छानविनको निष्कर्ष निकालेको थियो । तर, आजसम्म उनलाई कारबाही गर्ने सम्बन्धमा कुनै निर्णय भएको छैन ।
यो त एउटा घटना मात्रै हो, यो एक वर्षमा राज्य पक्षबाट यी दुईजनासहित ६ जनाको हत्या भएको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिजो(सोमबार) सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्ष अन्य पक्षबाट ३ सय १७ जनाको हत्या भएको छ।
यस्तै सन् २०२३ मा राज्य र अन्य पक्षबाट गरि ९ हजार ३८८ जना पीडित बनेका छन् । सबैभन्दा बढी बागमती प्रदेशका २ हजार २ सय ७४ जना पीडित भएको इन्सेकको वर्ष पुस्तकले देखाएको छ । बागमती प्रदेशका ६ जनाभन्दा बढी दैनिक पीडित भएको पुस्तकमा उल्लेख छ । सबैभन्द कम कर्णाली प्रदेशमा ४९९ जना पीडित बनेका छन् ।
यसैगरी नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएको पाइएको छ । २०२३ मा नेपालमा कुल ९ हजार ३ सय ८८ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएको पाइएको छ ।
त्यस्तै एक वर्षमा महिला हिंसा सम्बन्धी ५ हजार ९०३ वटा घटना भएका छन् । जसमा बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोप, बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा, यौन दुर्व्यवहार, प्रसूति सेवा र बेचबिखन तथा ओसारपसार प्रयास छन् ।
पारिवारिक अपराधबाट १४९ जनाले ज्यान गुमाएको वर्ष पुस्तकमा उल्लेख छ । जसमध्ये ४० जना पुरुष छन् । भने, श्रीमान्को हातबाट १०९ जना महिलाको हत्या भएको पाइएको छ ।
एक वर्षमा ४५ जना महिला दाइजो सम्बन्धी हिंसामा परेका छन् । दाइजोकै निहुँमा ७ जना महिलाको हत्या भएको देखिन्छ । सर्लाहीमा १५, सप्तरीमा १०, धनुषामा सात, कपिलवस्तुमा ६, बारामा ३, सुर्खेतमा दुई, बाँके, चितवन, कास्की, काठमाडौं, महोत्तरी, रौतहट, रुपन्देही, सुनसरी र स्याङ्जामा एक–एक वटा हिंसाका घटना भएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी सन् २०२३ मा १ हजार २ जना बालिका बलात्कारमा परेका छन् । बलात्कारमा परेकामध्ये ४४ जना त १ देखि ५ वर्षका थिए। ६ देखि ११ वर्षका १५५ जना र १२ देखि १७ वर्षका ८०३ जना बालिका बलात्कृत भएको पुस्तकमा उल्लेख छ ।



