काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई संघीय सांसद तथा प्रदेशसभा सदस्यहरूको एक महिनाको तलब र पार्टीका तर्फबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ।
धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा आइतबार कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गने निर्णय समेत भएको छ।
यसैगरी जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू २०८० मंसिर १५ गतेसम्मका लागि स्थगित गरेको छ। पार्टीले कार्तिक मसान्तसम्म आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम स्थगित गरेको छ।




