काठमाडाैं : रुसी सेनामा भर्ना भएका एक अर्का नेपाली सम्पर्कविहीन रहेको पाइएको छ । रुसी सेनामा भर्ना भएका धनुषाको मिथिलाका नगरपालिका–७ केमलीपुरका विमलकुमार गजमेर हाल परिवारको सम्पर्कमा नरहेका हुन् ।
रोजगारीको शिलशिलामा दुबई पुगेका उनी भदौ २० गते त्यहीँबाट रुस गएका थिए । दुबईमा खासै कमाई नभएका कारण उनी आफ्ना दाईसँग पैसा मागेर रुस गएको आमा सौमाया विश्वकर्माले बताइन् ।
विमलका बुवा तिलकबहादुर विश्वकर्माका अनुसार रुस पुगेको एक महिनासम्म कुराकानी गरेको छोरा हाल सम्पर्कविहीन रहेका छन् ।रूसी सेनामा गएका नेपालीहरुको मृत्यु भएको तथा युक्रेनमा बन्दी बनाइएका समाचार आइरहेका बला विमलको परिवार चिन्तित छ ।
उनीहरूले छोराको खोजीका लागि सरकारलाई आग्रह गरेका छन् । केही दिनअघि मात्रै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
हालसम्म रुसी सेनामा भर्ती भएका ७ नेपालीको युक्रेनसँगको युद्धका क्रममा ज्यान गइसकेको छ । त्यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन् । बर्दियाको राजपुर–१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई र रोल्पाको रुन्टिगढी–८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन् ।



