काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा प्रमोद जयसवाललाई ८ वर्ष कैद र ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सोही मुद्दामा अर्का प्रतिवादी पप्पु ठाकुरलाई ५ वर्ष कैद र ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना भएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कैद तथा जरिवानाको फैसला गरेको हो ।नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो ।
उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।



