काठमाडौं, २२ भदौ । संसदको पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको सुर्खेतबाट देशव्यापी प्रशिक्षण सुरु गरेको छ ।
नविन राप्रपा अभियान सुरु गरेर देशव्यापी रुपमा भूगोलका आधारमा केन्द्रीय नेताहरुलाई खटाएलगत्तै राप्रपाले पार्टीको विचार, सिद्धान्त, कार्यक्रम र रणनीतिका बारेमा कार्यकर्तालाई प्रशिक्षण सुरु गरेको हो । हालैमात्र प्रशिक्षण विभागलाई पूर्णता दिएर सक्रिय बनाएको राप्रपाले प्रदेश तहदेखि वडा तहसम्म प्रशिक्षण कार्यक्रमलाई विस्तार गर्ने संघीय सांसद समेत रहेका राप्रपाका उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए ।
प्रशिक्षणका लागि राप्रपाले उसका विचार सिद्धान्त र एजेण्डाहरुका बारेमा प्रशिक्षण सामग्री तयार पारिसकेको विभागकी उपप्रमुख खुश्बु ओलीले राजमार्गलाई जानकारी दिइन् । ‘शीर्ष नेताहरुसँग समन्वय गरेर हामीले प्रशिक्षण सामग्री र दस्तावेजहरु तयार गरेका छौं । अब यीनै दस्तावेजका आधारमा देशव्यापी प्रशिक्षण सुरु हुन्छ ।’ ओलीले भनिन् ।
राप्रपाले आफ्ना कार्यकर्तामा काँग्रेस, कम्युनिष्ट र नयाँ आएका पार्टीका नेता कार्यकर्तासँग बहस गर्न र आफ्ना मुद्दा स्पष्टसँग राख्नसक्ने बनाउन प्रशिक्षणलाई तीव्रता दिन लागेको जनाएको छ ।
गणतन्त्र, धर्म निरपेक्षता, संघीयता लगायतका पछिल्ला राजनीतिक परिवर्तनलाई स्वीकार नगरेको राप्रपाले संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र र संघीयताको खारेजी लगायतका ऐजण्डा बोकेको छ । हाल भएका बाँकी सबै पार्टी अहिलेकै व्यवस्था मान्ने पार्टी हुन् । जनताको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र त्यसका लागि राजनीतिक कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्नुपर्ने बताउँदै आएको राप्रपाले राजनीतिक प्रशिक्षण सुरु गरेसँगै आगामी तिहारपछि व्यवस्था परिवर्तन गर्न निर्णायक आन्दोलन गर्ने बताउँदै आएको छ ।



